काठमाडौं, फागुन २६ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई पोखराका सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् । मेयर आचार्यले आज सामाजिक सञ्जालमार्फत फुटपाथमा दर्ता वा अनुमतिबिना कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुने जनाउँदै महावीर पुनलाई यस्तो आग्रह गरेका हुन् ।
‘बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ’, आचार्यले भनेका छन्, ‘पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन ।’
उनले आवश्यकता परेको खण्डमा स्टक रहेका सबै किताब बेच्न पुस्तक व्यवसायी महासंघमार्फत पहल र सहजीकरण गर्ने समेत बताएका छन् ।
महावीरले भने अहिले विहान १० बजेदेखि पोखराको चिप्लढुङ्गा आसपास किताव विक्रि हुने जानकारी गराएका छन् । बिक्रिका लागि थप किताव काठमाडौंबाट पोखरा पुगिससकेको जानकारी दिदै उनले आज दिउँसो १ बजे सभागृह चोक र ४ बजे बिरौटा चोकका किताव बेच्ने योजना बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको काम अझै बाँकी रहेकाले फूर्सदको समयमा किताब बेचेर बीरगंज कृषि औजार कारखाना सञ्चालन हुँदै आएको उनले जनाएका छन् ।




प्रतिक्रिया