रवि लामिछानेको चुनावी खर्च बालेनको भन्दा कम


काठमाडौं, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगलाई खर्च विवरण बुझाएपछि उनले सार्वजनिक गरेका हुन् । लामिछानेले सार्वजनिक विवरण अनुसार चितवन–२ बाट निर्वाचित उनले जम्मा ९ लाख ८९ हजार ९८७ रुपैयाँ मात्र खर्च गरेका छन् ।

लामिछानेले सार्वजनिक गरेको यो खर्च उनकै पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह बालेनको भन्दा कम हो । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ । पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ ।

यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ । बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

लामिछानेले आयोगमा बुझाएको खर्च विवरणमा मनोनयन दर्ता खर्चमा १० हजार, नमुना मतपत्र सामग्री छपाईमा ६८ हजार १६१, यातायात तथा ईन्धन खर्च (२ वटा सवारीलाई १५ दिन)मा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च (दुई दिन) मा १४ हजार दुई सय, २८ वडामा वडास्तरीय प्रचार प्रसारमा ४६ हजार, प्रचारप्रचार सामग्री खरीद झण्डा र ब्याचमा एक लाख १२ हजार, प्रचारप्रसार सामग्री खरीदमा ५५ हजार, खाद्यान्न तथा राखन खरिद एक लाख ९६ हजार, तीन पटकको हवाई खर्च १३ हजार ६२६, गोष्ठी तथा भेलामा एक लाख ८० हजार गरेर जम्मा नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको जनाएका छन् ।