नेकपा ‘कोल्याप्स’को कारण सम्झिदै गोकुलले भने-चिनियाँ मोडेलको नक्कल सुपरफ्लप भयो, नसच्याए अर्को पटक सकिन्छ


काठमाडौं, फागुन २८ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पाँच वर्षअघिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया र त्यसको विघटनबारे टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आज बिहानै आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले नेकपाको त्यो समय ‘क्लाइमेक्स’ र ‘कोल्याप्स’ को मिश्रण भएको जनाएका छन् । वामपन्थी शक्तिबीचको एकताले जनतामा अभूतपूर्व उत्साह जगाए पनि विचार, संगठन र व्यवहारिक पक्षमा कमजोरी रहेका कारण एकता टिकिराख्न नसकेको उनको तर्क छ।

‘त्यतिबेला एकताको आधार कमजोर थियो, पार्टीको लगाम दुई जना अध्यक्षद्वयको अधिनमा मात्रै सीमित रह्यो’, बाँस्कोटाले भनेका छन्, ‘हामीले न सोभियत संघको विघटनबाट पाठ सिक्यौँ, न त चिनियाँ मोडेलको अन्ध अनुकरण नै सफल हुन सक्यो।’

उनले चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ भएको दाबी समेत गरे। यद्यपि, वामपन्थी आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै उनले गल्तीहरू नसच्याए आगामी दिनमा थप संकट आउन सक्ने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, पाचवर्ष अघि मैले भनेको थिए-यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो।वाम पार्टी मिलेका थिए र जनतामा अभुतपुर्व उत्साह थियो।तर विचार,सगंठन र ब्यबहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कम्जोर।सोभियतसघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो।सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ।