लागुऔषध सेवनकर्ताको बन्चरो प्रहारबाट घाइते असईले चलाए गोली, दुबै जनाको एउटै अस्पतालमा उपचार सुरु


काठमाडौं, फागुन २८ । मकवानपुरमा लागुऔषध सेवनकर्ताले बन्चरो प्रहार गर्दा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन्। पदमपोखरी प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीलाई गस्तीका क्रममा गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार उक्त घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा आक्रमणमा संलग्न हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडाका १९ वर्षीय एक युवक घाइते भएका छन्। घाईते दुबै जना प्रहरी र आक्रमणकारीको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न थप दुई युवकलाई समेत पक्राउ गरेको जानकारी दिएको छ ।