काठमाडौं, फागुन २८ । सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाहीको चौतर्फी माग र दबाव बढेको छ । गत शनिबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा सोही नगरपालिकाको वडा नम्बर १ मा बस्दै आएकी १६ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । अमानवीय र निन्दनीय उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको भन्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्य तथ्य छानबिन गरी पीडित परिवारलाई उचित न्याय दिन जोडदार माग गरेका छन् ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानुनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको बताएका छन् ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा बिक उषा बालवाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । शनिबार बिहान ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएपछि स्थानीय र प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको शवपरीक्षणको रिपोर्टमा जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पीडित पक्षले फागुन २५ गते उजुरी दिएका आधारमा प्रहरीले चार जनालाई मङ्गलबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चारै जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान अघि बढेपनि मृतकका परिवारजनले बालिकाको शव बुझेका छैनन् ।




प्रतिक्रिया