५१ दलले थ्रेसहोल्ड नकटाएपछि छ दलले पाए समानुपातिकतर्फको सबै सिट


काठमाडौं, फागुन २८ । गत विहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ वटा दलले मात्रै न्यूनतम मत सीमा (थ्रेसहोल्ड) कटाएका छन् । समानुपातिक निर्वाचन अन्तर्गत ५७ दलले भाग लिएकोमा ५१ दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था अनुसार थ्रेसहोल्ड नकाउने ५१ दलले समानुपातिकतर्फ सिट गुमाएका छन् ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेसहोल्ड कटाएपछि मधेशकेन्द्रत दलहरुले समानुपातिकतर्फसमेत सिट गुमाएका छन्

यसपटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राष्ट्रिय परिवर्तन पार्टी लगायतका ५१ दलहरुले थ्रेसहोल्ड कटाउन नसकेका हुन् ।

समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, एमालेले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएर थ्रेसहोल्ड पार गरेका छन् ।