बुद्ध एयरको एटीआर जहाज विश्वमै पहिलो पटक ‘रिटायर्ड’, १६ वर्ष उडेर २४ लाख यात्रुलाई उडान सेवा


काठमाडौं, फागुन २८ गते । बुद्ध एयरको एटीआर–७२ जहाज पूर्ण क्षमता सञ्चालनपछि विश्वमै पहिलो पटक औपचारिक रुपमा विदाई (सधैका लागि ग्राउन्डेड) गरिएको छ । बुद्ध एयरको कल साईन नाइन एन एजेओ एटीआर–७२ जहाज १६ वर्षे उडानको अवधि पार गर्दै रिटायर्ड भएको हो । यस जहाजले आफ्नो अधिक्तम उडान क्षमता ७२,००० साईकल पुरा गरेर रिटायर्ड भएको बुध्द एयरले जनाएको छ । ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।

बुद्ध एयरका अनुसार यो जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण एटीआर जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताएका छन् । यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि विदाई गरेको थियो ।