हिजो अनुपस्थित रवि र बालेन आज अभिमुखीकरणमा सहभागी हुने, रविले सम्बोधन गर्ने


काठमाडौं, चैत ४ । उपत्यकामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछाने र वरिष्ठ बालेन शाह सहभागी हुने भएका छन् ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रममा हिजो उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । नवनिर्वाचित सांसदरुलाई रास्वपाले सुरु गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ष्ठ नेता बालेन शाह भने सहभागी भएका थिएनन् ।

आज दोस्रो दिनको अभिमुखीकरण कार्यशालामा भने सभापति लामिछाने र वरिष्ठ नेता शाह सहभागी हुने पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उपसभापति अर्यालका अनुसार पनि हिजो स्वास्थ्य र व्यस्तताका कारण उद्घाटन सत्रमा सहभागी नभएका दुवैजना सम्भव भएसम्म आजको कार्यक्रममा सहभागी हुनेछन् । रास्वपाले सार्वजनिक कार्यक्रमको सेड्युलमा भने शाह उपस्थित हुनेबारे केही खुलाएको छैन ।