आज यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना


काठमाडौं, ५ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रको मौसमी अवस्थामा सामान्य बदली रहेको छ भने केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा चट्याङ्ग तथा असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै केही तराई क्षेत्रमै पनि हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम लगायतका क्षेत्रमा वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।