अर्घाखाँची, चैत ६ । भर्खर सम्पन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री अर्घाखाँचीमा सम्मानित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मानपत्र प्रदान गरेका हुन् । निर्वाचन अवधिभर सूचना सम्प्रेषणमार्फत निर्वाह गरेको सक्रिय र जिम्मेवार भूमिकाको कदर गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले निर्वाचनजस्तो संवेदनशील समयमा सत्य, तथ्य र विश्वसनीय सूचना जनतासम्म पुर्याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले पत्रकारहरूको सक्रियताले मतदाता शिक्षा, मतदान सहभागिता तथा निर्वाचनप्रति जनविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पुगेको उल्लेख गरे ।
त्यसैगरी जिल्ला निर्वाचन अधिकारी पौडेलले निर्वाचनको सम्पूर्ण अवधिमा सञ्चारकर्मीहरूले मतदान केन्द्रदेखि मतगणना स्थलसम्मका गतिविधिलाई निरन्तर रूपमा जनतासामु ल्याएको भन्दै धन्यवाद व्यक्त गरे। उनले पारदर्शी र विश्वसनीय निर्वाचनका लागि सञ्चार माध्यमसँगको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
उक्त कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो । निर्वाचन अवधिभर समाचार संकलन, प्रत्यक्ष सूचना सम्प्रेषण, मतदाता सचेतना तथा निर्वाचनसम्बन्धी गतिविधिलाई प्राथमिकताका साथ सार्वजनिक गरेको मूल्यांकनका आधारमा सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै अध्यक्ष क्षेत्रीले लोकतान्त्रिक प्रक्रियामा सञ्चार क्षेत्रको जिम्मेवारी अझ बढेको उल्लेख गर्दै आगामी दिनमा पनि निष्पक्ष, सन्तुलित र जनउत्तरदायी पत्रकारितामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया