काठमाडौँ, ६ चैत । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छिन्।
मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरिन्। साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उनले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो। यसका लागि म आभारी छु। मान्छेहरू मलाई बधाई भनिरहेका छन्। यसको वास्तविक हकदार तपाईंहरू हो।”
त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्वपूर्ण राष्ट्रिय अनुष्ठानको अंग बन्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताए। उनीहरूले निर्वाचनका दौरान देखेभोगेका अनुभव पनि सुनाए । रासस




प्रतिक्रिया