पानीको संरक्षणमा समन्वय र सहकार्यको आह्वान


काठमाडौं, चैत ८ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता रहेको बताएका छन् । उनले ‘खानेपानी र लैङ्गिक समानता’ भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित, समावेशी र समृद्ध समाज निर्माण गर्न ‘विश्व पानी दिवस’ ले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्धन गर्नुपर्ने बताउँदै पानीको संरक्षण, दिगो उपयोग, तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घ संस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अगाडि बढ्न सबैमा आह्वानसमेत गरेका छन् ।

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानी जीवनको आधार भएको उल्लेख गर्दै संरक्षण र समुचित उपयोग सबैको साझा जिम्मेवारी भएको बताएका छन् । ‘पानीबिना जीवनको कल्पना असम्भव रहेको बताउँदै उनले मानव सभ्यता, कृषि, उद्योग, ऊर्जा उत्पादन, जैविक विविधता र पारिस्थितिक प्रणाली सबै पानीमा निर्भर रहेको जनाएका छन् । राष्ट्रपति यादवले भूमिगत पानीको स्तर घट्दै गएको उल्लेख गर्दै तराई–मधेशमा यो समस्या गम्भीर भएको र पहाडी भूभागका झरना र प्राकृतिक स्रोत सुक्दै गएकाले संरक्षणमा सबैलाई जुट्न आह्वान गरेका छन् ।