छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं, चैत १० । फरक–फरक स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जसमध्ये डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा भएको बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका छन् । खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो गएराति १२ बजे दुर्घटनामा परेको हो ।

त्यस्तै, कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा भएको जीप दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियारको मृत्यु भएको छ ।

कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ दुर्घटनामा परेको हो । सोमबार साँझ झापाको कचनकवल गाउँपालिका–४ मा सिटी सफारी र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ ।

गएराति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएका हुन् ।