काठमाडौं, ११ चैत । विद्युत् उत्पादनमा अग्रसर बनेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन निर्माण तथा सञ्चालनमा पनि प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको छ।
नेपाल विद्युत् प्राधिकरणले चार प्रसारण लाइन आयोजना निजी क्षेत्रमार्फत विकास गर्न आशयपत्र (EOI) आह्वान गरेसँगै यो क्षेत्र औपचारिक रूपमा खुला भएको हो । प्राधिकरणले गत फागुन २८ गते ‘निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण’ (BOOT) मोडेलमा आयोजना विकास गर्न स्वदेशी तथा विदेशी कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको जनाएको छ। यस मोडेलअन्तर्गत निजी कम्पनीले आयोजना निर्माण गरी निश्चित अवधिसम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहनेछ।
आह्वान गरिएका आयोजनामध्ये ४०० केभी क्षमताका शीतलपाटी–इनरुवा (९५ किमी) र तिङ्ला–न्यु खिम्ती–सुनकोशी हब–ढल्केबर (१३४ किमी) प्रसारण लाइन छन्। साथै १३२ केभी क्षमताका डाँडाखेत–बुर्तिबाङ (३३ किमी) र रिडी–तम्घास (२८ किमी) लाइन पनि सोही मोडेलमा निर्माण गरिनेछ। यी आयोजनाहरूले राष्ट्रिय प्रसारण सञ्जाल विस्तार र ऊर्जा आपूर्ति सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सरकारले ठूलो लगानी आवश्यक पर्ने प्रसारण पूर्वाधार सरकारी स्रोतबाट मात्रै सम्भव नहुने निष्कर्ष निकाल्दै निजी क्षेत्रलाई आकर्षित गर्ने नीति ल्याएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ले गत मङ्सिरमा ‘ट्यारिफ बेस्ड कम्पिटेटिभ बिडिङ’ फ्रेमवर्क सार्वजनिक गर्दै प्रसारण क्षेत्रमा निजी लगानीको ढोका खोलेको थियो।उक्त फ्रेमवर्कअनुसार प्राधिकरणलाई बिडिङ एजेन्सीको जिम्मेवारी दिइएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार इच्छुक कम्पनीहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्।
आवेदनपछि योग्य कम्पनीहरूको छोटो सूची तयार गरिनेछ र त्यसपछि उनीहरूले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुपर्नेछ। छनोट भएका विकासकर्ताले आयोजना निर्माण गरी करिब २० वर्षसम्म सञ्चालन गर्नेछन्। त्यस अवधिमा प्राधिकरणले प्रसारण लाइनको क्षमता ‘बुकिङ’ गरेर सेवा खरिद गर्ने सुनिश्चितता दिनेछ, जसले निजी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निर्माण अवधिभरको विस्तृत परियोजना प्रतिवेदन (DPR), जग्गा अधिग्रहण, सर्वेक्षण तथा निर्माण कार्यसमेत विकासकर्ताकै जिम्मामा रहनेछ। यसले निजी क्षेत्रलाई पूर्ण परियोजना जिम्मेवारी दिने नयाँ अभ्यासको सुरुवात गरेको विश्लेषण गरिएको छ।निजी क्षेत्रले भने यस कदमलाई सकारात्मक रूपमा लिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार प्रसारण क्षेत्रमा निजी क्षेत्रको प्रवेश दीर्घकालीन ऊर्जा विकासका लागि महत्वपूर्ण कदम हो। उनले उचित प्रतिफल सुनिश्चित भए निजी लगानी अझै विस्तार हुने विश्वास व्यक्त गरे।ऊर्जा क्षेत्रमा उत्पादनसँगै प्रसारण सञ्जाल विस्तार पनि अपरिहार्य बन्दै गइरहेको अवस्थामा यस निर्णयलाई संरचनागत सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।




प्रतिक्रिया