चोरीमा संलग्न रहेको अभियोगमा पाँचजना पक्राउ



काठमाडौं, १२ चैत। चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित बिक्रम थापा मगरको घरबाट सुनको गरगहना, मोबाइल र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ फुलखर्क घर भएका २२ वर्षीय प्रशन्न अधिकारी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय लाक्पा शेर्पा, काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१७ घर भएका २८ वर्षीय प्रदिप गुरूङ, रसुवा नौकुण्ड गाउँपालिका-५ घर भएका २८ वर्षीय सागर कामी र काठमाडौं महानगरपालिका-१५ न्यूरोड बस्ने भारत महारष्ट्र सोलपुर तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भएका २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन् ।

गत फागुन २८ गते चोरी भएको उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न प्रशन्नलाई काठमाडौं मित्रनगरबाट, लाक्पालाई काठमाडौं कपुरधाराबाट, प्रदिपलाई काठमाडौं म्हेपीबाट, सागरलाई काठमाडौं नयाँबजारबाट र गौरबलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २३ ग्राम ३ सय मिलिग्राम तौलको सुनका ढिक्का ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।