काठमाडौं, १३ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले आज देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।




प्रतिक्रिया