फर्निचर व्यवसायी संघ नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ, १५ चैत । फर्निचर व्यवसायी संघ नेपालको काठमाडौंमा प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा प्रमुख अतिथि राम शोभित नायकले फर्निचर व्यवसायलाई संगठित, व्यवस्थित र आधुनिक प्रविधिसँग जोड्नुपर्ने बताए । उनले व्यवसायीहरूको एकता र सहकार्यले मात्र यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन सकिने धारणा व्यक्त गरे ।

संस्थाका अध्यक्ष उमेशप्रसाद यादवले संघ स्थापना हुनु नै व्यवसायीहरूको हकहित, संरक्षण र प्रवर्द्धनका लागि ऐतिहासिक कदम भएको बताए । उनले आगामी दिनमा तालिम, बजार विस्तार र नीतिगत सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, उपाध्यक्ष बिनोद शाह कानुले व्यवसायमा देखिएका चुनौतीहरूलाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिए । उनले सदस्यहरूबीच सहकार्य र समन्वय अझ मजबुत बनाउनुपर्ने धारणा राखे ।

महासचिव रन्जित झाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षभरि भएका गतिविधि, उपलब्धि र आगामी योजनाहरूको विस्तृत जानकारी दिए । उनले संघले छोटो समयमा नै उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गरे ।

कोषाध्यक्ष सुरेश राउत कुर्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय पारदर्शी र व्यवस्थित रहेको जानकारी दिए । उनले आगामी दिनमा आर्थिक अनुशासनलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लक्की ड्र तथा गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको थियो । कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको र फर्निचर व्यवसायीहरूबीच एकता, सहकार्य र सकारात्मक ऊर्जा थप मजबुत बनाएको सहभागीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बिनोद शाह कानु तथा सदस्यहरू विजय कुमार ठाकुर, प्रदेशी चौधरी थारु, ममता कुमारी देवी, ललिता कुमारी देवी र सुनिता देवीको समेत उपस्थिति रहेको थियो ।