आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा हावाहुरी 


काठमाडौं, चैत २१ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण अहिले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षारहिमपात तथा सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा–हिमपात तथा बाँकी पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।