बाजुरा, २३ चैत । जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।
बुढीनन्दा –२ मा रहेको कोल्टी बजारमा किसानले उत्पादन गरेको तरकारी र फलफूल बिक्रीका लाग राख्न र बेमौसममा पनि बिक्रीवितरण गर्नेगरी शीतभण्डारसहितको कृषि उपज केन्द्र सञ्चालनमा आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार साहले जानकारी दिए ।
उनले किसानले उत्पादन गरेका साग, आलु, काउलीलगायत तरकारीखेतीको बिक्री गर्न प्रत्येक होटल तथा पसलमा धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सहजताका लागि उक्त सङ्कलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको बताए ।
यसका लागि नगरपालिका र जिआइजेडको आर्थिक साझेदारीमा निर्माण गरिएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिए । उनका अनुसार नगरपालिका र जिआजेडको ६८ लाख ९१ हजार ८८० रुपैयाँ ५४ पैसाको संयुक्त लगानी उक्त उपज केन्द्र निर्माण गरिएको हो ।
कृषि उपज केन्द्र तथा शीतभण्डार गृहमा किसानले उत्पादन गरेका आलु, स्याउ, सुन्तलालगायत भण्डारण गरिने नगरप्रमुख बोहराले बताए ।
शीतभण्डार गृहमा भण्डराण गरिएका तरकारी तथा फलफूललाई अन्य समयमा पनि बिक्री वितरण गर्न पाइने नगरप्रमुख बोहराको भनाइ छ । कृषि उपज केन्द्र तथा शीतभण्डारगृह सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले शुभारम्भ गरेका हुन् ।
उच्च हिमाली क्षेत्रमा भेडाबाख्रापालनका लागि सरोकारवाला निकायसँग उत्तरी भेगका चार पालिकामा छलफलका लागि उनी कोल्टी पुगेका थिए । रासस




प्रतिक्रिया