एकैरातमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी लगत्तै इरानमाथि भीषण आक्रमण


काठमाडौं, चैत २५ । अन्तिम समयसीमा सकिएसँगै अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेका छन् । अमेरिकी टेलिभिजन संस्था सिएनएन, अमेरिकी समाचार संस्था एपी, अलजजिरालगायतले इरानको खर्ग टापु, पुल, रेल सञ्जाल, ऊर्जा पूर्वाधारलगायतमा आक्रमण भइरहेको जनाएका छन् ।

इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चार माध्यमका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानबाट आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई सुरक्षा प्रणालीमार्फत अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ । खाडी क्षेत्रभरि तनाव चुलिँदै जाँदा बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन रोक्न सक्रिय रहेको जनाएको छ । साउदी अरबले पनि आफ्नो पूर्वी क्षेत्रमा प्रक्षेपण गरिएका सात वटा ब्यालेस्टिक मिसाइल अवरोध गरी नष्ट गरेको दाबी गरेको छ, जसका भग्नावशेष ऊर्जा संरचनानजिक खसेको बताइएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा नआए एकैरातमा ध्वस्त पार्ने चेतावनी दिएका थिए । इरानले भने अमेरिकी प्रस्ताव अस्वीकार गर्दै मुलुकका पूर्वाधार जोगाउन मानव साङ्लो बनाउन इरानी जनतालाई आह्वान गरेको छ । इजरायलले १२ घण्टाका लागि रेलसेवा प्रयोग नगर्न इरानी जनतालाई आह्वान गर्दै चेतावनी जारी गरेको छ ।

यता इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको दाबी गरेका छन् ।