पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच युद्धविराम, खुसीयाली मनाउँदै सडकमा इरानी


काठमाडौं, चैत २५ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु।’

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो। उनले भनेका छन्, ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबिचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।’इरानले पनि युद्धविरामको पुष्टि गरेको छ। यो सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको हो।

इरानले होर्मुज स्ट्रेट दुई हप्ता खुला गरिने जानकारी गराउँदै यस अवधिमा आफ्ना नागरिकलाई राष्ट्रिय एकता कायम राख्न र पूर्ण शक्तिका साथ विजय मनाउन आग्रह गरेको छ। यसैबिच इजरायल पनि दुई हप्ता युद्धविराम गर्न सहमत भएसँगै इरानी नागरिकले सडकमा निस्किएर खुसीयाली मनाइरहेका छन् ।