नेपाली राजनीतिको आकाशमा कहिले घाम त कहिले बादल लाग्नु कुनै नौलो विषय होइन । तर, भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को नतिजाले देशको राजनीतिक मानचित्र यसरी बदलिएको छ कि दशकौँदेखि कम्युनिष्ट आन्दोलन नियालिरहेका विश्लेषकहरू समेत रनभुल्लमा परेका छन् ।
एकातिर परम्परागत शक्तिहरूको साख जोगाउने संघर्ष छ भने अर्कोतिर नयाँ शक्तिको सुनामी । यही हलचलका बीच एउटा अनौठो संयोग देखिएको छ, हिजोका कट्टर विद्रोही र माओवादी जनयुद्धका कमाण्डरहरू आज देशका दुई ठूला कम्युनिष्ट धारको नेतृत्व गरिरहेका छन् । एकातर्फ बादल छन् भने अर्काेतर्फ प्रचण्ड छन्, कुनै बेला यी दुई एकै कम्युनिष्ट आन्दोलन र बिचारधारामा थिए तर आज फरक राजनैतिक दललाई नेतृत्व गरिरहेका छन् ।
निर्वाचन २०८२ र रास्वपाको “सुनामी”
२०८२ को निर्वाचन नेपाली राजनीतिक इतिहासमा एउटा “टर्निङ प्वाइन्ट” साबित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई–तिहाइ सिटसहित ऐतिहासिक विजय हासिल गरेपछि पुराना दलहरू स्तब्ध भएका छन् । यो केवल एक चुनावको नतिजा मात्र थिएन, बरु स्थापित दलहरूको कार्यशैलीप्रति जनताले दिएको कडा “म्यान्डेट” थियो ।
रास्वपाको यो अभूतपूर्व उदयले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, मधेशवादी दल र बिप्लब माओवादी जस्ता पुराना शक्तिहरूलाई अस्तित्वको संकटमा पु¥याएको छ । यही संकटले नै अहिले कम्युनिष्ट शक्तिहरूलाई “मिल्नुको विकल्प छैन” भन्ने बिन्दुमा ल्याइपु¥याएको देखिन्छ ।
बादलको उदय र एमालेभित्रको नयाँ समीकरण
यही राजनीतिक अस्थिरता र नयाँ शक्तिको दबाबका बीच नेकपा एमालेभित्र एउटा ऐतिहासिक घटना भएको छ । अध्यक्ष केपी शर्मा ओली गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनलाई दमन गरेको भनि कार्वाहीको लागि कार्की आयोगले सिफारिसको आधारमा प्रक्राउ परि हिरासतमा रहेको बेला पार्टीले पूर्व माओवादी सैन्य कमाण्डर रामबहादुर थापा “बादल” लाई कार्यवाहक अध्यक्ष र संसदीय दलको नेतामा चयन गरेको छ । मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” (जबज) को जगमा उभिएको एमालेको बागडोर पूर्व माओवादी नेताको हातमा पुग्नुले धेरै कुराको संकेत गर्दछ ।
हिजो जनयुद्धको समयमा एमालेलाई “संशोधनवादी” देख्ने बादल आज त्यही पार्टीको डुङ्गा चलाउने पाइलट बनेका छन् । यसले के देखाउँछ भने, एमाले अब केवल पुरानो स्कूलिङमा मात्र सीमित छैन, यसले नयाँ शक्तिको चुनौती सामना गर्न पूर्व माओवादी धारलाई पूर्ण रूपमा आत्मसात गर्दै आगामी दिनमा बृहत कम्युनिष्ट पार्टी बन्न तर्फ अगाडी बढेको संकत गर्दछ ।
प्रचण्डको नेकपा र पुराना एमाले नेताहरूको छहारी
अर्कोतर्फ, दृश्य झनै रोचक छ, पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी लगायतको मोर्चा) भित्र हिजोका एमालेका हस्तीहरू माधवकुमार नेपाल र झलनाथ खनाल—अटाएका छन् । हिजो केपी ओलीसँगको आन्तरिक संघर्षमा “चेपुवा” मा परेका यी नेताहरू आज प्रचण्डसँगको सहकार्यमा आफ्नो राजनीतिक भविष्य खोजिरहेका छन् ।
यो एक यस्तो राजनीतिक “क्रस–ओभर” हो, जहाँ एमालेका पूर्व महासचिव र प्रधानमन्त्रीहरू माओवादी धारको नेतृत्वमा सुरक्षित महसुस गरिरहेका छन् भने अर्काे तर्फ माओवादीका पूर्व सैन्य कमाण्डर एमालेको सिंहासनमा विराजमान छन् । यसलाई एक संयोगको रुपमा मात्र नलिई यसभित्र केही नयाँ गन्तव्यको खोजी भईरुहेको त छैन?
के यो बृहत् कम्युनिष्ट एकताको पूर्वसंकेत हो?
२०८२ सालको निर्वाचनको परिणामले नेपाली राजनीतिको स्थापित मानचित्रलाई पूर्ण रूपमा बदलिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई–तिहाइ बहुमतका साथ ऐतिहासिक विजय हासिल गरेपछि दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गर्दै आएका कम्युनिष्ट घटकहरू अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । निर्वाचनमा बेहोर्नुपरेको अप्रत्यासित पराजय र छिन्नभिन्न भएको जनमतले गर्दा यतिखेर कम्युनिष्ट पार्टीहरूभित्र “बृहत् एकता“ को बहसले फेरि नयाँ उचाइ लिएको छ । एक्ला–एक्लै निर्वाचनमा जाँदा जनमतको तीव्र ध्रुवीकरण भई अस्तित्व नै समाप्त हुने जोखिम देखिएपछि नेताहरू हतार–हतार एउटै केन्द्र बनाउने कसरतमा जुटेका हुन् कि भन्ने आम चासो र संखा संशय पैदा भएको छ ।
कम्युनिष्ट शक्तिहरूलाई एकीकृत बनाउने यो कसरत केवल आन्तरिक राजनीतिक बाध्यतामा मात्र सीमित छैन । पछिल्लो समय विशेष गरी चुनावी सरगर्मीका बीचमा पनि नेपालमा बृहत् कम्युनिष्ट एकताका लागि उत्तरी छिमेकी चीनले देखाएको सक्रियता र पहल कदमीलाई राजनीतिक बजारमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । चीनले सधैँ नेपालमा कम्युनिष्ट शक्तिहरू विभाजित नभई एउटै बलियो शक्तिको रूपमा रहून् भन्ने चाहना राख्दै आएको कुरा लुकेको छैन । वर्तमान परिप्रेक्ष्यमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरूमा हिजोको माओवादी स्कुलिङ र पृष्ठभूमिबाट आएका नेताहरूको बाहुल्यता हुनुले पनि छिमेकीको यो चाहनालाई थप मलजल गरेको देखिन्छ ।
भू–राजनीतिक दृष्टिकोणबाट हेर्दा, चीनले नेपालमा स्थिर र विचार मिल्दो सरकारको खोजी गरिरहेको बुझिन्छ । त्यसैले नेकपा एमाले र नेकपाका अन्य घटकहरूलाई एउटा साझा “मध्य विन्दु“ मा सहमति गराउन चीन अहिले निकै अग्रसर देखिएको छ । निर्वाचनमा रास्वपाले ल्याएको आँधीमय नतिजाले कम्युनिष्ट आन्दोलनलाई नै ठूलो धक्का दिएपछि नेताहरूमा पलाएको भय र छिमेकीको रणनीतिक दबाबले अबका दिनमा कम्युनिष्ट एकताको नयाँ मार्गचित्र कोर्ने सम्भावना बढ्दै गएको छ । यद्यपि, विगतका तिक्तता र शक्ति संघर्षलाई बिर्सेर यो एकता कति दिगो होला भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ ।
एकताका बलिया आधारहरूः
२०८२ को चुनावी नतिजाले नेपाली राजनीतिमा नयाँ शक्ति रास्वपाको बलियो उदय गराएसँगै छरिएर रहेका कम्युनिष्ट शक्तिहरूका लागि अस्तित्वको संकट आइलागेको छ । अहिलेको बदलिँदो परिस्थितिमा कम्युनिष्ट विचारधाराका विश्लेषकहरूले यो अस्तित्व रक्षाको अन्तिम अवसर भएको तर्क गरिरहेका छन् । रास्वपाको बढ्दो प्रभावका कारण विभाजित कम्युनिष्ट भोटहरू एकै ठाउँमा नआउने हो भने नेपालमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुन सक्ने भयले गर्दा यतिबेला बृहत् एकता को बहस केवल एजेन्डा मात्र नभई बाध्यता बन्न पुगेको छ ।
यो एकताको सम्भावनालाई नेतृत्व तहमा देखिएको पछिल्लो लचकताले थप बल पु¥याएको छ । विशेष गरी विगतमा एउटै स्कुलिङबाट आएका रामबहादुर थापा ”बादल“ र पुष्पकमल दाहाल ”प्रचण्ड“ बीच एक (अर्काको शक्ति र स्थानलाई स्वीकार गर्ने वातावरण बन्दै गएको देखिन्छ । यी दुई नेताहरूको पुनर्मिलनको संकेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सकारात्मक रूपमा लिन सक्ने बुझाइ राजनीतिक वृत्तमा बढ्न थालेको छ । शीर्ष नेतृत्वबीचको यो समझदारीले दशकौँसम्म सँगै काम गरेका नेताहरूलाई फेरि एउटै केन्द्रमा उभ्याउने आधार तयार पारिरहेको छ ।
पार्टी एकताको यो लहर केवल माथिल्लो तहमा मात्र सीमित छैन तल्लो तहका कार्यकर्ताहरूबाट पनि नेतृत्वलाई निकै ठूलो दबाब परिरहेको छ । चुनावको नतिजाबाट पाठ सिक्दै दुवै पार्टीका भुईँतहका कार्यकर्ताहरूले अब पनि विभाजनमा रहनु भनेको सामूहिक राजनीतिक आत्महत्या हो भन्ने निष्कर्ष निकालेका छन् । कार्यकर्ताहरूको यो तीव्र चाहना र एकताका लागि परिरहेको दबाबले गर्दा अन्ततः नेतृत्वले संकीर्ण घेराबाट माथि उठेर बृहत् कम्युनिष्ट केन्द्र बनाउने दिशामा कदम चाल्नुपर्ने देखिन्छ ।
चुनौती र सम्भावनाको दोसाँध
यद्यपि, यो बाटो सजिलो छैन । माधव नेपाल र झलनाथ खनालको केपी ओलीसँगको व्यक्तिगत ईगो अझै पनि ठूलो पर्खाल बनेर उभिएको छ । तर, २०८२ को चुनावले दिएको सन्देश प्रष्ट छ, यदि अब पनि दलहरू सुध्रिएनन् र एक ठाउँमा आएनन् भने नेपाली राजनीतिमा कम्युनिष्ट र कम्युनिष्ट बिचारधाराको सान्दर्भिकता समाप्त भएर जानेछ । यसका लागि दुबै कम्युनिष्ट पार्टी एक हुने तर्फ अगाडी बढ्दा मात्र नेपालमा कम्युनिष्टको चिन्तन र सोच रहनेछ ।
यदि बादलले एमालेलाई कुशलतापूर्वक नेतृत्व गर्न सके र प्रचण्डले माधव–झलनाथ पक्षलाई विश्वासमा लिएर एमालेसँग संवाद अघि बढाउन सके भने, भोलिको “बृहत् नेपाल कम्युनिष्ट पार्टी” को परिकल्पना केवल सपना मात्र रहने छैन ।
अन्ततः पूर्व माओवादी कमाण्डरको हातमा एमालेको साँचो, पूर्व एमाले दिग्गजहरूको साथमा प्रचण्डको यात्रा, र रास्वपाको दुई–तिहाइको दबाब, यो केवल संयोग मात्र होइन, बरु नेपाली राजनीतिको नयाँ “केमेस्ट्री” हो । यसले संकेत गर्छ कि अबको राजनीति पद र पार्टीको नाममा भन्दा पनि एजेन्डा र अस्तित्वको रक्षामा केन्द्रित हुनेछ ।
के यी दुई धारहरू अन्ततः एउटै महासागरमा मिसिनेछन? या त यो केवल नयाँ शक्तिको डरले गरिएको अल्पकालीन व्यवस्थापन मात्र हो? यसको जवाफ समयले नै दिनेछ । तर, यति भन्न सकिन्छ—नेपाली कम्युनिष्ट आन्दोलनमा फेरि एउटा ठूलो पराकम्पनको तयारी भइरहेको छ, जसले सायद नेपालमा एउटै शक्तिशाली “बृहत् कम्युनिष्ट पार्टी” को पुनस्र्थापना गर्नेछ ।




प्रतिक्रिया