म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुठा प्रचारबाजी भयोः देउवा


काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएसँगै देउवाले विज्ञप्ती जारी गरेका छन् ।

पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा.राणाको विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ । सरकारले पक्राउ गर्नका लागि पूर्जी जारी गरेपछि विदेशमा रहेका देउवाले विज्ञप्ति जारी गरेका हुन् । देउवाले स्वास्थ्य उपचारका लागि हाल आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी पनि दिएका छन्।

पूर्व प्रधानमन्त्री देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिको बारेमा भ्रामक र झुठा प्रचारबाजी गरिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’


यस्तो छ उनको विज्ञप्तीः

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।
शेरबहादुर देउवा