पत्नि राधिका शाक्यको जिम्मामा घर फर्किए ओली


काठमाडौं, चैत २६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालबाटै उनकी पत्नी राधिका शाक्यको जिम्मामा रिहा गरिएको छ । ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी राधिका शाक्यको जिम्मा लगाइएको भट्टराईले बताए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। लेखक हिरासतमा रहे पनि ओली भने जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा थिए ।

त्यसलगत्तै ओलीकी पत्नी शाक्य र लेखकपत्नी यशोदा लेखकले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए। सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र लेखकमाथिको अनुसन्धान २६ चैत सम्म टुंग्याउन परमादेश जारी गरेको थियो। अदालतले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसके शर्तसहित छाड्न भनेको थियो। सोही आदेशअनुसार ओलीलाई परिवारको जिम्मा लगाइएको हो।

२३ र २४ भदाैमा भएको जेन–जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका आधारमा ओली र लेखक निवासबाटै पक्राउ परेका थिए ।  जनजी प्रदर्शनमा प्रहरी गोलीबाट किशोरहरूको मृत्यु भएको घटनाको छानबिनका लागि पक्राउ गरिएका उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले आदेश दिएको थियो ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। अदालतले उनीहरूको पक्राउलाई गैरकानुनी नभने पनि विभिन्न चार वटा मुख्य कारण देखाउँदै थुना बाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई आदेश दिएको हो । ओलीलाई अस्पतालमा र लेखकलाई सशस्त्र प्रहरी गणमा राखिएको थियो ।

प्रहरीले आज बिहान उनलाई परिवारको जिम्मा लगाएर छाडेपनि उनी अझै केहि दिन अस्पतालमै बस्ने जनाइएको छ । पित्तथैलीमा समस्या देखिएका ओलीको पिसाबमा पनि संक्रमण रहेकाले डिस्चार्ज गरेर आजै घर पठाउन मिल्ने अवस्था नरहेको त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीबहादुर रोस्याराले जानकारी दिए । प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई पनि आजै छाड्ने तयारी रहेको छ ।