मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता


पेरिस, २६ चैत । अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबीच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहलहरू एकसाथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट सङ्केत दिएको छ ।

इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले बिहीबार इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ । उसले यस कदमलाई अमेरिका–इरान युद्धविरामको ‘उल्लङ्घन’ विरुद्धको प्रतिक्रिया भनेको छ । एक दिनअघि मात्र लेबनानभरि भइरहेको इजरायली आक्रमणको घातक शृङ्खलाप्रति प्रतिक्रिया दिने ‘अधिकार’ रहेको उसले सार्वजनिक रूपमा बताएको थियो ।

यसैबीच, इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होरमुज जलडमरूमध्य क्षेत्रमा समुद्री जोखिम बढेको भन्दै जहाजहरूका लागि वैकल्पिक समुद्री मार्ग घोषणा गरेको छ । सो मार्गमार्फत आवतजावतका लागि नयाँ निर्देशिका समेत सार्वजनिक गरिएको छ, जसले क्षेत्रीय व्यापार र ऊर्जा आपूर्तिमा असर पार्ने सङ्केत देखाएको छ ।

लेबनानमा भएको आक्रमणप्रति अन्तर्राष्ट्रिय रेड क्रस समितिले तीव्र आक्रोश व्यक्त गरेको छ । लेबनानस्थित प्रतिनिधिमण्डल प्रमुख एग्नेस धुरले नागरिकहरू युद्धविरामको प्रतीक्षामा रहेका बेला भएको ‘विनाशकारी आक्रमण’ ले देशलाई त्रास र अराजकतामा धकेलेको बताए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने अमेरिका र इरानका नेताहरूसँग संवाद गर्दै लेबनानलाई समेत युद्धविरामको दायरामा समेट्न आग्रह गरेका छन् । उनले सबै सङ्घर्षग्रस्त क्षेत्रहरूमा युद्धविरामको पूर्ण पालना हुनुपर्नेमा जोड दिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुतले हालसम्मकै सबैभन्दा भीषण बमबारी झेलेको जनाइएको छ । इजरायली रक्षामन्त्रीले भने हिजबुल्लाहका संरचनाहरू लक्षित गरी आक्रमण गरिएको र यसलाई सन् २०२४ पछि उक्त समूहविरुद्धकै ठूलो कारबाही भएको दाबी गरे ।

उता, तेहरानमा बसोबास गर्ने सर्वसाधारणमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले युद्धविराम दिगो नहुने चिन्ता व्यक्त गरेका छन् भने धेरैले हप्तौँको तनावपछि राहत महसुस गरेको बताएका छन् । ५० वर्षीया गृहिणी साकिनेह मोहम्मदीले आफूहरू अहिले ‘धेरै सहज’ भएको र देशप्रति गर्व लागेको बताए ।

आर्थिक क्षेत्रमा भने युद्धविरामको प्रभाव देखिन थालेको छ । तेल तथा ग्यासको मूल्य घटेको छ भने विश्व सेयर बजारमा सुधार आएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज करिब २।९ प्रतिशतले बढेको छ भने प्रमुख तेल सम्झौता करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ डलरमा झरेको छ । यसले होरमुज जलडमरूमध्य पुनः खुल्न सक्ने अपेक्षा बलियो बनाएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले लेबनानमा इजरायली आक्रमण रोक्नु क्षेत्रीय युद्ध अन्त्यका लागि प्रस्तुत १० बुँदे योजनाको मुख्य शर्त भएको बताएका छन् । इजरायलले हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण सुरु गरेपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो ।

यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लामाबादमा हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्ने तयारी गरेका छन् । उनीसँगै विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पनि सहभागी हुने बताइएको छ । भान्सले इरानलाई लेबनानमा युद्धविराम अवरुद्ध नगर्न आग्रह गर्दै त्यहाँको द्वन्द्व हालको सहमतिको हिस्सा नभएको स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले लेबनानमा भइरहेको हिंसालाई ‘भयावह’ भन्दै कडा आलोचना गरेका छन् । उनले युद्धविराम सहमति भएको केही घण्टामै भएको यस्तो आक्रमणले विश्वासमाथि गम्भीर चोट पुर्‍याएको बताए । रेड क्रसले पनि यस घटनाबाट ‘गहिरो आक्रोश’ व्यक्त गरेको छ ।

यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आवश्यक परे इरानविरुद्ध पुनः युद्धमा फर्कन आफूहरू तयार रहेको स्पष्ट पारेका छन् । “हामीसँग अझै पूरा गर्न बाँकी लक्ष्यहरू छन् र ती हामी सम्झौता वा लडाइँमार्फत पूरा गर्नेछौँ”, उनले टेलिभिजन सम्बोधनमा भने । रासस