आज कहाँको मौसम कस्तो?


काठमाडौं, चैत २७ । देशका पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज तराईका भू-भागमा हावाहुरीको सम्भावना छ ।

हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहीबार राति मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । “कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।

विभागका अनुसार, राति कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।