हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै


राँझा (बाँके), २७ चैत । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ ।

चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको होे । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।

नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला र बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा चार लेनको पुल निर्माण सुरु भएको छ ।

किरण नालामा करिब रु चार करोड ५० लाखको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । हाल धमाधम जग निर्माणको काम भइरहेको छ । केही वर्षअघि मात्र निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण सुरु गरिएको छ ।

पुरानो दुई लेनको पुल यथावत् राखेर नयाँ थप दुई लेनको पुल बनाउन लागिएको छ । आगामी असारभित्रै पुल निर्माण सक्नेगरी काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका योजना प्रमुख भण्डारीले जानकारी दिए । ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चार लेनको बनाइने भएको छ । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेन पुल निर्माण समयावधि अगावै सम्पन्न भएको छ । रासस