कञ्चनपुर, २७ चैत । शुक्लाफाँटा नगरपालिका–१० झलारीका रामसिंह डगौरा व्यावसायिक तरकारीखेतीमार्फत परिवारको आर्थिक आधार मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गर्दै आएका छन् ।
उनले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि निरन्तर तरकारीखेती गर्दै आएका छन् । जग्गा भाडाबापत विद्यालयलाई वार्षिक ५५ हजार बुझाउँदै आएका डगौराले बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् ।
उका अनुसार तरकारीखेतीबाट मासिक ५० देखि ७० हजारसम्म आम्दानी हुने गरेको छ भने वार्षिक आम्दानी १० लाखभन्दा बढी पुग्ने गरेको छ । बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडालगायत तरकारी उत्पादन गरिन्छ ।
तरकारीखेती विस्तारका लागि उनले बैंकबाट १० लाख कर्जा लिइसकेका छन् । तरकारीखेतीको आम्दानीले तीन जना छोराछोरीको उच्च शिक्षाको खर्च, बिरामी श्रीमतीको उपचार, बैंक ऋणको किस्ता तथा घरखर्च धान्दै आएका छन् । “आम्दानीको आधाभन्दा बढी रकम छोराछोरीको पढाइमा खर्च हुन्छ”, उनी भन्छन्, “सन्तानको भविष्य राम्रो बन्यो भने सम्पत्ति आफैँ जोडिन्छ”, त्यहीँ भएर सम्पत्ति जोड्नुभन्दा सन्तानकै शिक्षामा तरकारीखेतीबाट आर्जन गरेको रकम खर्च गर्दै आएको उनी बताउँछन् ।
उनकी एक छोरीले आइएस्सी एजी उत्तीर्ण गरी काठमाडौँमा लोकसेवाको तयारी गरिरहेकी छिन् भने छोरा र अर्की छोरी होटल व्यवस्थापन विषयमा अध्ययनरत छन् । छोराछोरीबीच कुनै भेदभाव नगरी समान अवसर दिनुपर्नेमा आफू दृढ रहेको उनको भनाइ छ ।
तरकारीखेतीमा उनकी श्रीमती सीमा डगौराले पनि साथ दिँदै आएका छन् । उत्पादन भएको अधिकांश तरकारी बारीबाटै बिक्री हुने गरेको छ भने बाँकी महेन्द्रनगर बजारमा पुर्याएर बिक्री गरिन्छ । तरकारीसँगै डगौराले नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री गर्ने काम पनि गर्दै आएका छन् । यस वर्षमात्रै बिरुवाबाट दुई लाख ५० हजार आम्दानी भएको उनले बताए ।
कृषि ज्ञान केन्द्रमार्फत उनले दुईवटा प्लास्टिकका हाइटेक टनेल, बीउबिजन र सिँचाइका लागि पाइप अनुदानमा प्राप्त गरेका छन् । व्यावसायिक किसानलाई राज्यले अझ प्रभावकारी सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
“सहुलियत दरमा कर्जा, समयमै मल, बीउबिजन र कीटनाशक पाइयो भने उत्पादन अझ बढाउन सकिन्छ”, उनले भने, “तर आवश्यक सामग्री समयमै नपाउँदा अपेक्षित उत्पादन गर्न कठिन हुन्छ ।” व्यावसायिक तरकारीखेतीले आम्दानीसँगै रोजगारी र आत्मनिर्भरता बढाउने उदाहरणका रूपमा डगौरा देखिएका छन् । रासस




प्रतिक्रिया