काठमाडौं, चैत ३० । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेको १७ दिनमै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
जसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सबैभन्दा बढी देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलसँग कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ।
सार्वजनिक विवरणमा घरजग्गा, सवारी साधन, सुनचाँदी, बैंक मौज्दात तथा विभिन्न कम्पनीमा गरिएको सेयर लगानी समावेश गरिएको छ। मन्त्री पोखरेलको नाममा काठमाडौंमा करिब अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ। त्यस्तै, मूलपानीमा ६ आना जग्गा (५ करोड रुपैयाँ) र मोरङमा १ कठ्ठा जग्गा (१ करोड रुपैयाँ) पनि उनको नाममा रहेको देखिएको छ।
पारिवारिक सम्पत्तितर्फ, उनका बुवाको नाममा काठमाडौंमा ४ आना २ पैसा जग्गा रहेको छ, जसको मूल्य करिब साढे २ करोड रुपैयाँ छ। आमा मिनाक्षी पोखरेलको नाममा गोदावरी र गोकर्णेश्वर क्षेत्रमा गरी करिब ३ करोड रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ। साथै, परिवारकै नाममा गोदावरीमा ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ देखाइएको छ।
मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख छ, जसको कुल मूल्य करिब ७५ लाख रुपैयाँ रहेको छ। साथै, २५ हजार रुपैयाँ नगद पनि रहेको विवरणमा जनाइएको छ। उनले यी सम्पत्ति पैतृक स्रोत, बुवाको आम्दानी तथा आमाबाट प्राप्त दाइजोबाट संकलन भएको बताएका छन्।
बैंक मौज्दाततर्फ सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी कुल ४ लाख ४८ हजार रुपैयाँ जम्मा रहेको देखिएको छ। त्यस्तै, विभिन्न कम्पनीमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको उल्लेख गरिएको छ।
सवारी साधनतर्फ, बुवाको नाममा करिब ७० लाख रुपैयाँ मूल्यको एक विद्युतीय कार र मन्त्री पोखरेलको नाममा झन्डै ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको छ। उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि विवरणमा उल्लेख गरेका छन्। सम्पूर्ण चल–अचल सम्पत्ति तथा दायित्व समेट्दा मन्त्री पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।
विवरणमा मन्त्री पोखरेलको सम्पत्तिको सबैभन्दा ठुलो र मुख्य स्रोत उनका बुबा रमेशकुमार पोखरेलको जागिरलाई देखाइएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक उनका बुबाले राष्ट्र बैंकमा रहँदा पाएको पारिश्रमिक, भत्ता र सुविधाबाट घर(जग्गा खरिद गरेको विवरणमा उल्लेख छ । पोखरेल अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत कार्यरत रहेको र त्यहाँबाट प्राप्त पारिश्रमिक र सुविधाले पनि जग्गा खरिद गरिएको खुलाइएको छ ।
अधिकांश स्थिर सम्पत्ति (घर र जग्गा) को स्रोतमा ‘पैतृक सम्पत्ति’ उल्लेख छ । पुर्ख्यौली जग्गा जमिन बिक्री गरेर आएको पैसाबाट काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा नयाँ घर-जग्गा जोडिएको देखिन्छ । सुन र चाँदीको स्रोतमा पनि पैतृक सम्पत्ति र आमालाई दाइजोबाट प्राप्त भएको उल्लेख छ । मन्त्री पोखरेलका बुबाले नेपाल राष्ट्र बैंकबाट अवकास हुँदा एकमुस्ट प्राप्त गरेको रकमलाई लगानीको स्रोत बनाइएको छ ।




प्रतिक्रिया