महोत्तरी, ३ वैशाख। पछिल्ला तीन वर्षयता कैयौँ चाडपर्व आए र गए, तर पक्षघातले थलिएका महोत्तरी बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै उल्लासले छोएन। तर यसपालिको नयाँ वर्ष २०८३ को सुरुवात भने उनका लागि जीवनकै एउटा खुसीको मोड बनेको छ।
मधेस क्षेत्रमा नयाँ वर्षको अवसरमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मंगलबार भुजेलले घुमफिरका लागि ‘ह्विलचेयर’ उपहार पाएका छन्। लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उनलाई सो सहयोग उपलब्ध गराएपछि उनले भावुक हुँदै भने, ‘’हातगोडा नचल्ने भएर तीन वर्षदेखि थला परेको थिएँ, अब यही ह्विलचेयरमा घर ओरपर डुल्न पाउने भएँ। सहयोगीहरूलाई धेरै आभार छ।‘’
भुजेल मात्र होइन, सोही बस्तीका १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाको जीवनमा पनि यसपालिको नयाँ वर्षले आशाको सञ्चार गराएको छ। दुर्घटनामा परेर दुवै गोडा गुमाएपछि १५ वर्षदेखि एउटै ठाउँमा कुँजिएर बसेका थापाले ह्विलचेयर पाएपछि आफ्नो जीवनको बोझ हलुका भएको महसुस गरे। ‘’अहिले त नयाँ वर्षले जीवनमा नयाँ आशा ल्याएको छ, अब वरपर जान सहज हुनेछ,‘’ थापाले खुसी साटे।
त्यस्तै जन्मजात अशक्त र बोल्न नसक्ने १३ वर्षीय दियाली पनि ह्विलचेयर पाएपछि निकै उत्साहित देखिएका छन्। बर्दिबास–११ का वडाध्यक्ष गोपाल बलले लायन्स क्लबले गरेको यो सानो सहयोगले अशक्तहरूको जीवनमा ठूलो खुसी र राहत पुर्याएको बताए।
लायन्स क्लब अफ बर्दिबास समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाका अनुसार लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को समन्वयमा यसपटक ६ जना अशक्त व्यक्तिहरूलाई ह्विलचेयर प्रदान गरिएको हो। रासस




प्रतिक्रिया