काठमाडौं, वैशाख ७ । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने जनाइएको छ। बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनेछन् भने नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनेछन् ।
त्यस्तैगरी, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने जनाइएको छ ।
प्रधानमन्त्रीले विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संगठनलाई शैक्षिक संस्था बाहिर ल्याउन छलफल गर्न लागेको बताइन्छ। सोहीअनुसार सरकारले विश्वविद्यालय सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिने घोषणा गरिसकेको छ।



प्रतिक्रिया