कांग्रेसभित्र प्रत्यक्ष बनाम समानुपातिक द्वन्द्व—नेतृत्व चयनमा गगन–विश्व फरक धार, कसको जित ?


काठमाडौं । गगन कुमार थापा नेतृत्वमा पुनर्संरचना खोजिरहेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया जटिल मोडमा पुगेको छ । प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट आएका सांसदबीचको अदृश्य विभाजन अहिले खुला प्रतिस्पर्धामा परिणत हुँदै गएको छ ।

हालै सम्पन्न निर्वाचनमा पार्टीभित्र सिनियर मानिएका नेताहरू—शेखर कोइराला, विमलेन्द्र निधि लगायत—प्रत्यक्ष निर्वाचनमै पराजित भएपछि शक्ति सन्तुलन फेरिएको छ ।

युवामुखी र नयाँ अनुहारहरूले प्रत्यक्षतर्फ जित निकाल्दा पुराना नेता भने समानुपातिक सूचीमार्फत संसद् प्रवेश गरेका छन् । यसले पार्टीभित्र “जनमत बनाम अनुभव” को बहसलाई तीव्र बनाएको छ ।

संसदीय दलको नेताका रूपमा मुख्यतः तीन नाम चर्चामा छन । जसमा अर्जुन नरसिंह केसी (सिनियरिटीको आधार), भीष्मराज आङ्देम्बे (सम्झौताको सेतु) र मोहन आचार्य (प्रत्यक्ष निर्वाचित अनुहार) को रुपमा रहेका छन ।
केसीले आफ्नो वरिष्ठता र लामो अनुभवलाई आधार बनाउँदै दाबी प्रस्तुत गरेका छन ्। तर, उनलाई लिएर पार्टीभित्र सहमति बन्न सकेको छैन ।

गगनको झुकावः प्रत्यक्ष निर्वाचिततर्फ
सभापति गगन कुमार थापा सुरुवाती चरणमा केसीप्रति नरम देखिए पनि उनको नाममा सहमति बन्न नसकेपछि पछिल्लो समीकरणमा उनी प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिनुपर्ने धारमा स्पष्ट रूपमा उभिएका छन् ।
त्यसैअनुसार, तीनपटक प्रत्यक्ष चुनाव जितेका मोहन आचार्य लाई अघि सार्ने रणनीतिमा गगन देखिन्छन् ।
यो कदमले पार्टीभित्र “जनताबाट प्रत्यक्ष अनुमोदित नेतृत्व” को सन्देश दिने प्रयासका रूपमा हेरिएको छ ।

विश्वप्रकाशको रणनीतिः सन्तुलन र सहमति
उता, उपसभापति विश्वप्रकाश शर्मा भने भेगीय र आन्तरिक सन्तुलन मिलाउने पक्षमा छन् । उनी भीष्मराज आङ्देम्बे लाई “सम्झौताको पात्र” का रूपमा अघि सार्न खोजिरहेका छन् ।
विश्वले केसीको उम्मेदवारीप्रति असहमति जनाउँदै आएका छन् भने आङ्देम्बेमार्फत सहमतिको विकल्प खोजिरहेका छन ।

प्रत्यक्ष बनाम समानुपातिकः मूल द्वन्द्व
यो प्रतिस्पर्धाको केन्द्रमा एउटा मूल प्रश्न छ— नेतृत्व जनमतबाट आउनुपर्छ कि अनुभव र संगठनबाट ? जसमा प्रत्यक्ष निर्वाचित पक्षको तर्क छ, जनताले अनुमोदन गरेको नेतृत्व नै वैध हुन्छ । तर समानुपातिक पक्षको तर्क छ, अनुभव र निरन्तरता पनि उत्तिकै आवश्यक छ ।
केसी स्वयंले पनि “प्रत्यक्ष वा समानुपातिकबाट आएको आधारमा विभेद उचित नभएको” तर्क अघि सारेका छन्, तर व्यवहारमा यही विभाजनले प्रतिस्पर्धा तातेको छ ।

सहमति कि प्रतिस्पर्धा ?
पार्टीभित्र सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि शीर्ष नेताबीच नै मतभेद कायम रहेकाले प्रतिस्पर्धात्मक मतदानतर्फ जाने संकेत देखिएको छ । गगन–विश्वबीचको रणनीतिक असहमति समाधान नभएसम्म साझा उम्मेदवार निकाल्न कठिन देखिन्छ ।
नेपाली कांग्रेसभित्र अहिलेको अवस्था केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, यो पार्टीको भविष्यको दिशा निर्धारण गर्ने मोड पनि हो ।
प्रत्यक्ष र समानुपातिकबीचको यो प्रतिस्पर्धा अन्ततः कसको पक्षमा जान्छ भन्ने कुरा तत्काल स्पष्ट नहोला । तर एउटा कुरा निश्चित छ, यो निर्णयले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन, नेतृत्व शैली र आगामी राजनीतिक रणनीतिलाई गहिरो प्रभाव पार्नेछ ।