संगठनको छवि उच्च राखेको भन्दै सम्मान पाएका प्रहरी हवलदार घुससहित पक्राउ


काठमाडौं, वैशाख १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उक्त रकमसमेत बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ परेका क्षेत्री २०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उत्कृष्ट प्रहरी घोषणा गरेको थियो । कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनी सम्मानित भएका थिए ।

आफ्नो पदीय दायित्वलाई इमानदार, बफादार, कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिक सुझबुझका साथ काम गरेको र प्रहरीको छवि उच्च राखेको भन्दै सम्मान पाएका उनै प्रहरी हवलदार शनिबार साँझ घुससहित पक्राउ परेका हुन्। लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार सेवाग्राहीले ५० हजा दिए । स्रोतका अनुसार थापाले ३ लाख डिल गरेका थिए । सोही रकमसहित रंगेहात उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

हवलदार थापाले आफूलाई पटक पटक दुख दिने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन् । फाइल लुकाइदिने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथि छ । उनी विरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी छ । उनी पहुँचकै भरमा दरबन्दी प्रहरी चौकी अरुणखोलामा भए पनि कास्कीमा काज सरुवा भएका थिए । त्यसमा पनि मुद्दा फाँटमा रहेर उनले लामो समयदेखि काम गरिरहेका छन् । थापा विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ ।