चितवन, १४ वैशाख । राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा सङ्कलन गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा अण्डा सङ्कलन गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय र वन्यजन्तुको खतरा भएका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ । गतवर्ष राप्ती नदीमा १८ वटा गुँड भेटिएकामा तीबाट दुई सय ३२ वटा अण्डा निकालिएको उनले जानकारी दिए ।
सूचना अधिकारी थापामगरले भने, “जोखिम क्षेत्रमा रहेका गुँडबाट मात्रै अण्डा सङ्कलन गरिएको हो । सुरक्षित स्थानमा रहेका गुँडका अण्डालाई प्रकृतिमा नै छोडिएको छ । सङ्कलित अण्डा कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिएको छ ।”
गोही प्रजनन् केन्द्रमा हरेक वर्ष सङ्कलन गरी ल्याइएका अण्डालाई कोरलेर पाँच वर्ष पुगेका गोहीलाई नदीमा छाड्ने गरिन्छ । अघिल्ला वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यसवर्ष राप्ती नदीमा मात्र खोजिएको सूचना अधिकारी थापामगरले बताए । रासस




प्रतिक्रिया