समयमा नै काम सम्पन्न गर्न पूर्वाधार विकास समितिले निर्देशन


काठमाडौं । अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा नै सम्पन्न गर्न पूर्वाधार विकास समितिले निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई तत्काल व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता र त्रुटिहरूको गहिरो अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने उनको भनाइ छ ।

उनले विकास निर्माणका सन्दर्भमा समितिप्रति सरकार जवाफदेही हुनुपर्ने बताए ।

उनले भने, ‘पूर्वाधारहरू जुन अलपत्र परेका छन्, तिनीहरूको पनि व्यवस्थापन हुनुपर्‍यो, समयमा नै काम सम्पन्न हुनुपर्छ । आगामी दिनमा आउने परियोजनामा विगतका गल्तीहरू दोहोरिन दिनु हुँदैन । त्यसका लागि हामीले निती नियम र प्रक्रियामा के के अस्पष्टता छन् ? के के त्रुटिहरू छन् ?, ती कुराहरूमा हामीले गहन ढंगले छलफल गरेर सरकारलाई सुझाव, निर्देशन दिने, समन्वय गर्ने गर्नुपर्छ ।’