जनताको जीवनस्तर सुधार गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र साहस हुनुपर्छ:मुख्यमन्त्री बानियाँ


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन नीति र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामहरूमा नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सङ्घीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबिच तादम्यता हुनुपर्ने बताएका हुन् ।

उनले नेपालमा पनि सङ्घीय संरचनामार्फत जनताको जीवनस्तर सुधार गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र साहस हुनुपर्ने बताए । नेपाली राजनीतिमा देखिएको बोली र व्यवहार बिचको खाडलले प्रभावकारी काम हुन नसकेको उनको भनाइ छ ।

मुख्यमन्त्री बानियाँका अनुसार अबका नीतिहरू द्विअर्थी लाग्ने खालको नभई स्पष्ट र नतिजामुखी हुनुपर्छ ।