सरकारको विरोधमा रास्वापाकै सांसद, भने– झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन


काठमाडौं, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभा सदस्य रहेका गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरीको काम नभएको बताएका हुन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले झन्डै दुई तिहाइ ल्याएको पार्टीले अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका हुन् ।

उनले लेखेका छन् ‘सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जबाफदेहिताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ । रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । ‘

यस्तै उनलेअध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित भएपनि संविधानको मर्म विपरीत रहेकाे बताएका छन् ।

उनले भनेका छन्– ‘अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फ विरोध भएको समयमा कार्कीको यो धारणा आएको हो ।