जनतालाई छिटो नतिजा दिन अध्यादेश ल्याउनु परेको होः सागर ढकाल


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले सरकारले ल्याएको अध्यादेश जनताको अपेक्षाअनुसार छिटो नतिजा दिनका लागि आवश्यक रहेको बताएका छन्।

बुधबार संसदीय दलको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै ढकालले राज्यका कतिपय नीति–नियमहरू अड्किएका कारण काम गर्न ढिलाइ हुने भएकाले अध्यादेशको सहारा लिइएको स्पष्ट पारे।

‘जनताले आजको आजै नतिजा खोजिरहेका छन्, धेरै समय कुर्न सक्ने अवस्था छैन’, ढकालले भने, ‘कतिपय अवस्थामा नियमित प्रक्रियाबाट जाँदा समय लाग्ने भएकाले चाँडो नतिजा दिन र देशलाई अगाडि बढाउन अध्यादेश ल्याउनु आवश्यकता देखिएको हो।’

उनले यो कुनै व्यक्तिगत स्वार्थका लागि नभई कार्यसम्पादनमा सहजता ल्याउनका लागि ल्याइएको दाबी समेत गरे। बैठकमा सुकुम्वासी समस्याका विषयमा पनि घनीभूत छलफल भएको ढकालले जानकारी दिए।

उनका अनुसार पार्टी सभापति रवि लामिछानेले सुकुम्वासी बस्ती व्यवस्थापनका विषयमा करिब २० देखि २५ मिनेटसम्म विशेष छलफल गरेका थिए। सुकुम्वासीहरूलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा पार्टी स्पष्ट र गम्भीर रहेको ढकालको भनाइ छ।

सांसद ढकालले जनताले रास्वपालाई देश बनाउनका लागि चुनेर पठाएकाले आफूहरू जनसरोकारका मुद्दामा संवेदनशील रहेको उल्लेख गरे। नियमित प्रक्रियाका जटिलताहरू फुकाउन अध्यादेशले सहजता प्रदान गर्ने उनको दाबी छ ।