वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान


कञ्चनपुर, १६ वैशाख । शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान गरेको छ । अँध्यारोका कारण राति वन्यजन्तुको जोखिम बढी हुने क्षेत्रहरूमा सौर्यबत्ती जडान गरिएसँगै सुरक्षा तथा सहजता दुवैमा सुधार आएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत ३५ लाख बजेटमा यो कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार १२ वटै वडामा वन्यजन्तुको अत्यधिक जोखिम रहेका ३० स्थानको पहिचान गरी सौर्यबत्ती जडानको कार्य गरिएको छ ।

वडा नं १ मा तीन, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा तीन, वडा नं ६ मा चार र वडा नं ७ मा तीन वटा सौर्यबत्ती जडान गरिएका छन् । त्यसैगरी वडा नं ८ मा तीन, वडा नं ९ मा दुई, वडा नं १० मा एक, वडा नं ११ मा दुई र वडा नं १२ मा तीन वटा सौर्यबत्ती जडानको कार्य सम्पन्न गरिएको छ ।

सौर्यबत्तीमा सेन्सर प्रणाली जडान गरिएको छ । सेन्सरयुक्त सौर्यबत्ती साँझ हुँदै गर्दा स्वतः बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने सुविधा प्रदान गर्छ । यसले विद्युत् खपत नगरी वातावरणमैत्री रूपमा प्रकाश उपलब्ध गराउने भएकाले दिगो र किफायती उपायका रूपमा समेत लिइएको छ ।

नगरपालिकाको ऊर्जा समितिका संयोजक दानबहादुर ऐरले वन्यजन्तु प्रभावित क्षेत्रमा सौर्यबत्ती जडान गर्नुको मुख्य उद्देश्य स्थानीय बासिन्दाको सुरक्षामा प्रमुख रहेको बताए । “रातिको समयमा अँध्यारोका कारण हात्ती, बाघ, चितुवाजस्ता वन्यजन्तु बस्ती नजिक आउने जोखिम उच्च हुन्छ”, उनले भने, “सौर्यबत्तीको उज्यालोले वन्यजन्तुलाई बस्ती नजिक आउन निरुत्साहित गर्ने र बासिन्दालाई सतर्क रहन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

सौर्यबत्ती जडानपछि राति हिँडडुल गर्न सहज भएको स्थानिय मनोज चौधरीले बताए । पहिले अँध्यारोका कारण साँझपख घरबाहिर निस्कनसमेत डर लाग्ने गरेकोमा अहिले उज्यालोका कारण जोखिम केही हदसम्म कम भएको उनको भनाइ रहेको छ । खेतबारी हेर्न, पशुचौपाया जोगाउन तथा आपत्कालीन अवस्थामा आवतजावत गर्नसमेत सौयबत्ती जडानपछि सहज भएको उनले उल्लेख गरे ।

सौर्यबत्ती जडानको कार्यले बस्ती आसपास उज्यालो बढेसँगै चोरी तथा अन्य असामाजिक गतिविधिमा पनि कमी आउने अपेक्षा गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वन्यजन्तु प्रवेशको समस्या विगतदेखि नै रहँदै आएको छ । यस्तो अवस्थामा सौर्यबत्ती जडानजस्ता प्रविधिमैत्री उपायहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । रासस