नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा देखाएको नक्सा माफी माग्दै हटायो


काठमाडौं । नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गल्ती भएकाे भन्दै माफी मागेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक निगमले पोष्ट गरेको एक नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाइएको थियो ।

उक्त पोष्ट पछि भारतीय नागरिकहरुले सोसल मिडिया प्लेटफर्ममा नेपाल एयरलाइन्स र जम्मुकश्मिरसँग सम्बन्धित ह्यासट्याग राख्दै कडा प्रतिक्रिया दिएका थिए ।

अहिले निगमले आफूबाट गल्ती भएको स्वीकार गर्दै उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको जानकारी दिएको छ ।

‘हाम्रा सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं,’ नेपाल एयरलाइन्सले भनेको छ, ‘उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरु थिए ।’ सो नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने पनि स्पष्ट पारिएको छ ।