सुशील र आशिकाको अन्तरजातीय प्रेम: परिवारले दियो साथ,अदालतमा गरे विवाह !






काठमाडौ । दबाइएको दलित समुदायको आवाजलाई निरन्तर उठाइरख्ने सामाजिक अभियान्ता सुशील नेपालीले अन्तरजातीय विवाह गरेका छन् ।



उनले बुढिगंगा गाउँपालिका वडा नम्बर १ मोरङ निवासी आशिका लम्सालसँग विवाह गरेका हुन् । दलित र गैरदलितबिच हुने प्रेमविवाहलाई नस्विकार्ने समाजलाई उनीहरूले चुनौती दिएका छन् ।


दलित र गैरदलितबीचको प्रेमलाई अझै पनि सहज रूपमा स्वीकार गर्न नसक्ने नेपाली समाजका बीच यो विवाहले सकारात्मक सन्देश दिएको छ। परिवारकै सहमतिमा सम्पन्न भएको यस वैवाहिक सम्बन्धले सामाजिक विभेद तोड्दै समानता र मानवअधिकारको पक्षमा उदाहरण प्रस्तुत गरेको छ।


मोरङ जिल्ला अदालतमा विवाह सम्पन्न गरिएको फोटो सामाजिक संजालमा राख्दै आशिका लम्सालका बुबा गणेश लम्सालले कान्छी छोरीको विवाह सुशील नेपाली सँग गराउन पाउँदा गर्व भएको बताएका छन् । `आमाबुबा आफै साक्षी बसेर हाम्री प्यारी कान्छि छोरी आशिका र ज्वाँई शुसिल नेपालीको विवाह कानुनी रुपबाट (३ बैसाख २०८३) सम्पन्न गरायौँ,´ सामाजिक संजाल उनले लेखेका छन् `हामीलाई गर्व छ । हैसियत नभएको , मुर्ख , डरपोक , हुतिहारा , लोभी आदि जे आरोप लगाएपनि सामनाका लागि हामी तयार छौ ।´

उनले विभेद ,रुढिबाद ,अन्यविश्वास र आडम्बर सबै विरुद्ध नडराइ लड्न छोरीज्वाइँलाई सुझाव समेत दिएका छन् ।


नेपालमा अन्तर्जातीय विवाह गर्ने जोडीहरूले विगतमा विभिन्न किसिमका सामाजिक दबाब, बहिष्कार र हिंसासमेत भोग्दै आएका छन् । रुकुम पश्चिममा भएको नवराज बिकसहितका युवाहरूको सामूहिक हत्या जस्ता दर्दनाक घटनाले समाजमा जातीय विभेद कति गहिरो छ भन्ने देखाएको थियो। यस्ता घटनाले अन्तरजातीय प्रेम र विवाहप्रति अझै चुनौती रहेको स्पष्ट देखिन्छ ।


यद्यपि पछिल्लो समय शिक्षित युवा पुस्ता र सचेत परिवारहरूको सोचमा परिवर्तन आउँदै गएको देखिन्छ। आशिका र शुशिलको विवाह पनि त्यही परिवर्तनको एक सकारात्मक संकेतका रूपमा हेरिएको छ।