चितवन । चितवनको कालिका नगरपालिका–१० को विकट चेपाङ बस्तीकी कमला चेपाङका चार छोरीहरूको उच्च शिक्षासम्मको अध्ययनको जिम्मा वरिष्ठ पत्रकार ऋषि धमलाले लिएका छन् ।
स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना हुन आएका बालिकाहरूको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि धमलाले उनीहरूको पढाइका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । कालिका नगरपालिकाले आधारभूत तह (कक्षा १ देखि ८) सम्म अनिवार्य तथा निःशुल्क शिक्षा उपलब्ध गराइरहेको सन्दर्भमा धमलाले सोभन्दा माथिल्लो तहको खर्च आफूले व्यहोर्ने बताएका हुन् ।
‘नगरपालिकाले आठ कक्षासम्म निःशुल्क पढाइरहेकै छ, त्यसपछिको ९ कक्षादेखि उच्च शिक्षासम्म जति पढ्नुपर्छ, त्यसको जिम्मा म व्यक्तिगत रूपमा लिन्छु,’ धमलाले भने, ‘अब यी चारै जना छोरीहरूले पढ्नबाट वञ्चित हुनु पर्दैन ।’
शिक्षाको पहुँचबाट टाढा रहेका सीमान्तकृत समुदायका बालिकाहरूलाई विद्यालयसम्म ल्याउन र उनीहरूको भविष्य सुनिश्चित गर्न उनीहरुको पढाइको जिम्मा आफूले लिएको धमलाले बताएका छन् ।




प्रतिक्रिया