काठमाडौं, वैशाख १९ । सगरमाथा हिमाल आरोहणका लागि जाने क्रममा ज्यान गुमाएका एक आरोहीको शव फेला परेको छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सगरमाथा आधार शिविरदेखि क्याम्प १ जाने व्यस्त मार्ग खुम्बु आइसफल क्षेत्रमा एक आरोहीको शव फेला परेको हो। सो शवको उद्धार गरी काठमाडौं ल्याइएको छ।
नेपाल पर्वतारोहण संघले जारी गरेको विज्ञप्ति अनुसार आइसफल डाक्टरहरूले नियमित रुपमा मार्ग व्यवस्थापन गर्ने क्रममा शव देखेका थिए। शव आंशिक रुपमा हिउमुनि गाडिएको, शरीरको करिब आधा भाग ढाकिएको अवस्थामा मुख्य आरोहण मार्गमै रहेको थियो। जसको कारण आरोहीहरूको सुरक्षामा जोखिमका साथै वातावरणीय चुनौती पनि सिर्जना गरेको कारण तत्कालै उद्धार गरीएको संघले जनाएको छ।
शव भेटेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले तत्काल उद्धारका लागि निर्देशन दिएको थियो। त्यसपछि पर्वतारोहण संघले नेपाल पर्यटन बोर्ड, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा एभरेष्ट क्षेत्रमा कार्यरत प्राविधिक टोलीसँग समन्वय गरी उद्धार अभियान अघि बढाएको हो।
गत अप्रिल २९, २०२६ मा अनुभवी शेर्पाहरूको टोलीले जोखिमपूर्ण अवस्थामा रहेको शवलाई सावधानीपूर्वक बरफबाट निकालेर सगरमाथा आधार शिविर पुर्याएको थियो। उद्धारपश्चात शवलाई परिक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।




प्रतिक्रिया