पुर्जा नभएको जग्गामा नक्सापासबिनै घर, आफ्नै नीतिमा आफैं अल्झिए रास्वापाका सांसद खनाल


काठमाडौं, वैशाख २० । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालको घर नक्सापासबिनै निर्माण भएको र जग्गाको लालपूर्जा समेत नभएको खुलेपछि बहस चर्किएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन तीनतले घर ऐलानी जग्गामा रहेको स्थानीय स्रोतले जनाएको छ। उक्त घरको नक्सापास नभएको र जग्गाको स्वामित्व पुष्टि गर्ने लालपूर्जा पनि नभएको नगरपालिकाले स्पष्ट पारेको छ।

खनालका स्वकीय सचिव हर्क पुनले घर ऐलानीमै रहेको स्वीकार गर्दै अतिक्रमण गरेर नभई परिवारकै लगानीमा निर्माण गरिएको दाबी गरेका छन् । उनका अनुसार खनालका बुबाआमा भारतमा मजदुरी गरेर कमाएको पैसाले घर बनाइएको हो, तर पुर्जाको प्रक्रिया भने पूरा भइसकेको छैन।

चुनावका बेला आफूलाई ‘लालपूर्जा नभएको सुकुम्बासीको छोरो’ भनेर प्रस्तुत गरेका खनाल अहिले त्यही अवस्थाको प्रतिनिधि पात्रजस्तै देखिएका छन्। भूमिहीनको मुद्दा उठाउँदै जनसमर्थन पाएका उनी आफैं मापदण्ड विपरीत संरचना निर्माणमा जोडिएको तथ्य बाहिरिएपछि राजनीतिक नैतिकतामाथि प्रश्न उठेको छ।

लम्कीचुहा नगरपालिकाकी प्रमुख शुशिला शाहीका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबास अन्तर्गत पर्छ। भूमि आयोगमार्फत प्रक्रिया अघि बढे पनि अहिलेसम्म लालपूर्जा जारी भइसकेको छैन। ऐलानी जग्गामा बनेको घरको नक्सापास हुँदैन, त्यसैले त्यो घरको पनि नक्सा पास नभएको जनाइएको छ ।

यस्तो अवस्थामा सरकारी डोजर अभियानले सर्वसाधारण मात्र होइन, सत्तारुढ दलकै प्रतिनिधिको घर पनि जोखिममा पर्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।