बालेन सरकारकाे कार्यशैलीप्रति पुनको असन्तुष्टि,भन्छन्-‘मेरो टाउको फोड्नु नपरोस् है’


काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले बालेन्द्र साह(बालेन) नेतृतवको सरकारले गरिरहेको कार्यशैलीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । म्याग्दीबाट निर्वाचित सांसद पुनले आज(सोबार) सामाजिक सञ्जालमा लेख्दै अहिलेको सरकारले पनि विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ने छाँट पटक्कै नदेखिएको बताएका छन् ।

पूर्व शिक्षामन्त्रीसमेत रहेका पुनले लेखेका छन् ‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ला जस्तो छाँट त पतक्कै देखिएन ।’

पुनले नवप्रवर्तन केवल उद्योग क्षेत्रमा सीमित विषय नभई राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, जीवन विज्ञान, संगीत र साहित्य लगायतका विविध क्षेत्रमा आवश्यक पर्ने व्यापक अवधारणा भएको बताएका छन्।

‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ला जस्तो छाँट त पतक्कै देखिएन । बरु नव प्रवर्तनलाई त उद्योग मन्त्रालयतिर हाल्न खोजेजस्तो बुझिन्छ। अनि विज्ञान प्रविधि मन्त्रालयको त बिउ नै निर्मुल पार्ला जस्तो पो बुझियो त लाखे! वप्रवर्तन भनेको उद्योगमा मात्र नभएर राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान प्रविधि, जीवन विज्ञान, संगीत, साहित्य आदि-इत्यादी सबै कुरामा हुन्छनी हाउ । मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू! कुरा बुझ्नु भो??,’ उनले लेखेका छन् ।

केही मन्त्रालय खारेज गर्ने र दुई मन्त्रालयको नँया नाम दिइने प्रधानमन्त्री बालेनको तयारीलाई लिएर उनले यो कटाक्ष गरेको देखिएको छ । सम्भवत आजको मन्त्रीपरिषद् बैठकले ४ वटा मन्त्रालय खारेज गर्दै मन्त्रालय संख्या १७ मा सीमित गर्ने तयारी गरेको छ। प्रस्ताव अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गरिने स्रोतको भनाइ छ ।

युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा मन्त्रालयमा गाभेर “शिक्षा तथा खेलकुद मन्त्रालय” बनाइनेछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत राखिनेछ।