काठमाडौँ । विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘अभ्यास हातेमालो’ कार्यक्रमको आठौं संस्करण सुरु गरिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज उक्त अभ्यासको शुभारम्भ युद्धकार्य महानिर्देशक उपरथी अनुजजंग थापाले गरेका हुन् ।
विज्ञप्ति अनुसार विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमतामा अभिवृद्धि तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्ने लक्ष्यसहित अभ्यास सञ्चालन गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागिता रहेको जनाइएको छ ।
यसअघि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश तहमा ‘अभ्यास हातेमालो–१’ सञ्चालन गरिएको थियो । त्यसपछि जङ्गी अड्डामा वार्षिक रूपमा आयोजना हुँदै आएको यो अभ्यास यस वर्ष मनसुनको समयमा हुन सक्ने सम्भावित बाढी तथा पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन गरिनेछ । साथै क्रमिक रूपमा प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।




प्रतिक्रिया