विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया बिमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।

पक्राउ मध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९५ हजार रूपैयाँ, बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख ६० हजार रूपैयाँ र रोशनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार, बिमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाट शनिबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।