काठमाडौं । नेकपा(संयुक्त)ले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। ‘सरकारबारे सार्वजनिक ध्यानाकर्षण’ शीर्षकमा आज कार्यवाहक अध्यक्ष घनश्याम भुसालले एक वक्तव्य जारी गर्दै सरकारप्रति जनताका उच्च अपेक्षा रहेको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
भुसालले नेपालमा राजनीतिक अस्थिरता र विगतका सरकारहरूको असफलताका कारण जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै वर्तमान सरकारलाई ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्। “जनताले ठूलो आशा र भरोसाका साथ सरकार बनाएका छन्, त्यसैले सरकार सफल हुनुपर्छ भन्ने हाम्रो शुभेच्छा छ,” वक्तव्यमा उल्लेख छ।
तर, सरकार गठन भएको छोटो समयमै केही निर्णयहरूले जनविश्वास कमजोर बनाउने संकेत देखिएको उनको भनाइ छ । विशेषगरी सुकुम्बासी व्यवस्थापनको नाममा गरिएका गतिविधिहरूले गरिब तथा श्रमिक वर्गप्रति असंवेदनशील व्यवहार देखिएको भन्दै उनले आपत्ति जनाएका छन्।
“लोकतान्त्रिक सरकारले नागरिकमाथि अमानवीय व्यवहार गर्न मिल्दैन,” उनले भनेका छन्।
त्यसैगरी विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णयप्रति पनि उनले असहमति जनाएका छन्। यस्तो कदमले संविधानले सुनिश्चित गरेको अधिकारको उल्लंघन हुने र लोकतान्त्रिक अभ्यास कमजोर हुने उनले बताएका छन्।
भुसालले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन्। “संसदीय प्रणालीको मर्म विपरीत अध्यादेशको बाटो रोज्नु लज्जास्पद हो,” उनले भनेका छन्। साथै, राजनीतिक नियुक्ति र पुरस्कार वितरणमा पक्षपात देखिएको भन्दै उनले सरकारलाई पारदर्शिता अपनाउन आग्रह गरेका छन्।
नेपाल–भारत सीमामा कडाइ गर्ने नाममा सर्वसाधारणलाई दुःख दिने निर्णयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। खुला सीमाको व्यवस्थापन गर्दा नागरिकको सहजता र सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ छ।
वक्तव्यमा बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्यामा सरकारको ध्यान नपुगेको पनि उल्लेख गरिएको छ।




प्रतिक्रिया