संविधानले प्रत्याभूति प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ:सञ्चारमन्त्री


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पत्रकारिता क्षेत्रमा कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा राष्ट्रिय पत्रकारिता दिवस–२०८३ को अवसरमा आयोजित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले प्रत्याभूति गरेको पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

मन्त्री तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउने बताए।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग र ‘फेक न्यूज’ का कारण समाजमा विभाजन र अविश्वास बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले फ्याक्ट चेकलाई पत्रकारिताको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए। यस वर्षको पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको जानकारी दिँदै उनले सुशासन कायम गर्न जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए।

डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता जोगाउन प्रविधिको सही सदुपयोग र व्यावसायिक मर्यादालाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।