काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
“यसका लागि ज्येष्ठ नागरिकले गरेका काम, कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवम् राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरुपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भने ।
स्वस्थ्यकर सामग्री खानु, लाउनु र आवश्यक परेका अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु ज्येष्ठ नागरिकको हक भएको उनको भनाई थियो । उनीहरूले पनि उस्तै उमेरका वा अरू जोसुकैसित पनि अन्तर्क्रिया गर्ने एवम् सकेसम्म परिवारमै स्थापित भएर जीवनयापन गर्न पाउनुपर्नेमा उनले जोड दिए ।
दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उनको भनाई थियो ।
राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्ध भत्ताको सुरुवात गरेको ऐतिहासिक तथ्यको स्मरण गरे ।
तत्कालीन समयमा १०० रुपैयाँबाट शुरु भएको भत्ता हाल ४ हजार पुगेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा सो कदम कोशेढुङ्गा सावित भएको बताए ।




प्रतिक्रिया